मुख्य समाचार

नेपाली कांग्रेसको बैठकः महाधिवेशन कार्यतालिका पेश हुँदै

काठमाडौं

पटक पटक स्थगित हुदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजेलाई बोलाइएको छ । आजको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन अगावै महाधिवेशन गर्ने कार्यतालिका पेश गर्ने तयारी गर्नुभएको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तोक्ने विषयमा संस्थापन र इतरपक्षका नेताहरुसँग बरोबर छलफल गरेपछि पुस २७ गते महाधिवेशन गर्नेगरिको कार्यतालिका बैठकमा लैजान कार्यबाहक सभापति खड्कालाई निर्देशन दिनुभएको बुझिएको छ । चुनाव अगावै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका २८ नेतामध्येका एक आङ्गेलु शेर्पाले आजको बैठकले महाधिवेशनको मिति तोक्ने जानकारी दिनुभयो ।

असोज अन्तिम सातादेखि महाधिवेशनको मिति तोक्ने विषयमा अल्झिएको कांग्रेस अन्ततः चुनाव अगावै महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरलाई सहमतिमा ल्याउन असफल भएपछि अन्तिममा सभापति देउवाले पहल लिनुभएको थियो । सोही बमोजिम सभापति देउवाले कार्यबाहक सभापति खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी आजको बैठकमा कार्यतालिका प्रस्तुत गर्न निर्देशन दिनुभएको नेताहरुले बताएका छन् ।

विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री गगन थापाले सभापतिसहित सबै पदाधिकारी, इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने भन्दै देउवाको पछिल्लो प्रस्तावमा सहमति जनाउनुभएको छ । नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिने संस्थापन पक्षको बुझाइ छ । तर महामन्त्री थापा पक्षधरका नेताले भने ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधीको भावनालाई नजरअन्दाज गरेर नयाँ मिति तोक्न लागेकोमा आपत्ती जनाएका छन् । नेता प्रकाश रसाइली स्नेहीले पुस अन्तिममा महाधिवेशनको मिति तोकेर विशेष महाधिवेशनको मागलाई नेतृत्वले रोक्न खोजेको आरोप लगाउनु भयो । उहाँले महाधिवेशन पर सार्ने नियतले आउन लागेको नयाँ कार्यतालिकाले आफुहरुको विशेष महाधिवेशनको मागलाई टार्न नसक्ने बताउनुभयो ।