“जेनजी आन्दोलनमा विदेशीको हात”: एमाले उपमहासचिव गुरुङ
-प्रमुख राजनीतिक दल एमालेका एक जना पदाधिकारीले आफ्नो स्वार्थ पुरा नभएपछि विदेशी शक्तिले योजनावद्ध रुपमा नेपालमा जेन जी पुस्ताको आन्दोलन गराएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिको हितमा काम नगरेकाले तत्कालिन सरकारलाई सत्ताच्युत गराइएको बताउनुभएको हो ।
अन्य देशमा जस्तै नेपालमा पनि डिजिटल माध्यम र पैसा प्रयोग गरेर केपी ओली नेतृत्वको सरकारलाई हट्न बाध्य पारिएको गुरुङको दावी छ ।
जेन जी आन्दोलनका डिजाइनरले ओलीलाई एमालेको अध्यक्षबाट हटाउन खोजेको उपमहासचिव गुरुङको भनाइ छ । पार्टीहरुलाई कमजोर बनाउने गरी नेतृत्व हस्तान्तरणको मुद्दा उचालिएको उहाँको दावी थियो ।
पार्टीको आसन्न महाधिवेशनबाट ओलीलाई फेरि अध्यक्ष बनाउनुको विकल्प नभएको गुरुङको भनाइ छ ।