मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरु परामर्शमा
काठमाडौंमधेस प्रदेशको नयाँ मुख्यमन्त्री चयनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै एमाले बाहेकका ७ दलका नेताहरु छलफलमा जुटेका हुन् ।
नयाँ मुख्य मन्त्रीका लागि नेपाली कंग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले दावी गरेका छन् । ती दुई दलले मुख्यमन्त्रीमा दावी नछाडेपछि आज बसेको ७ दलको बैठक बिना निष्कर्ष टुंगिएको हाम्रा सहकर्मीले जनाएका छन् । नेपाली कांग्रेस र लोसापाले मुख्यमन्त्रीको दावी नछोडेपछि सहमति हुन नसकेको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो ।
कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले आफूहरुको पालो आएको बताएको छ । लोसपाले भने जितेन्द्र सोनलको नेतृत्वको तत्कालिन सरकार धेरै दिन नचलेको र अपमानपूर्ण ढंगमा हटाइएकाले फेरि अवसर पाउनुपर्ने अडान राखेको छ ।
त्यसपछि दुई दललाई सहमतिमा आउन आपसी छलफलका लागि समय दिइएको नेताहरुले बताएका छन् । प्रदेश प्रमुख कर्णको आव्हान अनुसार भोलि साँझ ५ बजेभित्रमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुपर्नेछ । सरोजकुमार यादवले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत गर्दै प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको हो ।