मधेसमा नयाँ सरकार बन्दै
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको दाबी पेश गर्न ७ दलले तयारी गरेका छन् । एमालेबाहेकका ७ दलीय गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकार गठनका लागि दिएको समयसिमा अपरान्ह ५ बजे सकिँदैछ । हिजो दिनभर भएको छलफलमा कांग्रेस, जसपा नेपाल, लोसपा, जनमतसहितका ७ दलले मुख्यमन्त्रीको नाममा सहमति जुटाएको दाबी गरेका छन् । यद्यपी उनीहरुले नाम भने सार्वजनिक गरेका छैनन् । छलफलमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्रीको नाममा सहमति जुटिसकेको छ ।
मुख्यमन्त्रीको सपथसँगै आजै सबै दलबाट सहभागी हुने मन्त्रीहरुको सपथ गराउने तयारी भएको उनको भनाई छ । एमाले बाहेकका ७ दलले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्रीमा दाबी गर्न लागेका हुन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भावी मुख्यमन्त्रीका लागि दाबेदार छन् । उच्च स्रोतका अनुसार दलहरुबीच कांग्रेसलाई मुख्यमन्त्री दिएर खाली रहेको सभामुखमा जसपाका उमेद्वारलाई सहयोग गर्ने सहमति भएको छ ।
एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै मधेसमा सभामुख पद पनि रिक्त छ । यादव मुख्यमन्त्रीमा नियुक्त भए पहिलो पटक कांग्रेसले मधेस सरकारको नेतृत्व गर्ने मौका पाउने छ । १०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ सांसद छन् । ठूलो दलको हैसियतमा गठन भएको एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेर राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठन हुन लागेको हो ।