मुख्य समाचार

राजनीतिक नेतृत्वलाई अर्को साता बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

काठमाडौं

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीेसँगको छलफलका क्रममा आयोगका पदाधिकारीले म्याद थपका लागि आग्रह गरेका हुन् । 

सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले काम नसकिएकाले म्याद थपका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार, आयोगको माग अनुसार सरकारले त्यसबारे निर्णय गर्ने भएको छ । ३ महिनाको म्याद यही पुष ५ गते सकिदैछ । सरकारले गत असोज ५ गते सो आयोग गठन गरेको थियो । यसअघि सरकारले आयोगको कार्यक्षेत्र अघिल्लो साता बढाएको गियो ।

 यसैबीच, आयोगका अध्यक्ष कार्कीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकसहित राजनीतिक नेतृत्वलाई बयानमा बोलाउने तयारी गरेको बताउनुभयो । अर्को साताभित्र ओली र लेखकलाई बयानका लागि बोलाइने उहाँको भनाइ छ । 

आयोगप्रति खासगरी एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री ओली र उहाँ निकट नेताले असन्तुष्टी जनाउँदै आएका छन् । आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीको बयान लिइसकेको छ ।