मुख्य समाचार

ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

- केएफएम डेस्ककाठमाडौं

एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित हुनु भएको छ । ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरुमा विष्णु पौडेल र रामबहादुर थापा रहनु भएको छ ।

पौडेलले १ हजार ६ सय ७५ मत ल्याउँदा थापाले १ हजार ५ सय १६ मत प्राप्त गरे । त्यस्तै पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत १ हजार ७ सय ३७ प्राप्त गर्दै उपाध्यक्षमा विजयी हुनु भएको हो ।

त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी हुनु भएको हो । संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित विजयी हुनु भएको छ ।

महासचिवमा ओली प्यानलकै शंकर पोखरेल १२ सय २८ मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभयो।

उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी हुनु भएको छ । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र योगेश भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो । यसअघि उपमहासचिव रहेका बिष्णु रिमाल भने पराजित हुनुभयो । ९ सचिवमा भने सबै ओली प्यानल नै निर्वाचित भएको छ ।

सचिवमा सबैभन्दा धेरै मत महेश बस्नेतले १ हजार ५ सय ४४ मत प्राप्त गर्नुभयो । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल १ हजार ५ सय ३० मत प्राप्त गर्नुभयो ।

छविलाल विश्वकर्माले १ हजार ५ सय ६, शेरधन राईले १ हजार ५ सय ३, हिक्मतकुमार कार्कीले १ हजार ३ सय ३७, खगराज अधिकारीले १ हजार २ सय ३१, यामलाल कँडेलले १ हजार १ सय ८५ र राजन भट्टराईले १ हजार १ सय ८१ मत ल्याई सचिवमा निर्वाचित भएका छन् ।

भानुभक्त ढकाल पनि १ हजार १ सय ८ मतसहित सचिवमा निर्वाचित भए । एमालेको नयाँ नेतृत्व चयनका लागि मतपरिणाम आएपनि औपचारिक घोषणा हुन भने बाँकी छ ।