मुख्य समाचार

उच्च अदालतद्वारा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

बुटवल

तुलसीपुर उच्च अदालत, बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले सो आदेश गरेको हो । उच्चले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । उच्चले धरौटी माग गरेपछि सो बराबरको रकम बुझाएर लामिछाने थुनामुक्त हुने छन् । उच्चले लामिछानेको हकमा आफ्नो दायित्व बराबरको विगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो । यद्यपि, लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा पाँच वटा शर्त तोकिएको छ । 

यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न उच्चले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता लगायत शर्तमा धरौटी स्वीकार गर्ने आदेश गरेको भनिएको छ । जिल्ला अदालतबाट २०८१ माघ १३ मा सुरु थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्न तथा पेस गरेको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार बिगोको हकमा सुरक्षित गर्न अदालतले आदेश दिएको छ । लामिछानेले व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्नेछ ।


यसैबीच, उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेपनि अर्का प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै रहने भएका छन् । जोशीको धरौटी बराबरको रकम राखेर रिहा हुने निवेदन रितपूर्वक पेस नभएको भन्दै उच्चले सो आदेश गरेको हो । छविको हकमा रविले जस्तै भैरहवा जिल्ला अदालतमा गएर आफूले तिर्नुपर्ने रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर प्रक्रिया गरेमा थुनामुक्तको आदेश हुने उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो ।