मुख्य समाचार

रास्वपा सभापति लामिछाने थुनामुक्त

रुपन्देही

काठमाडौंबाट चितवन हुँदै आज साँझ रुपन्देही पुग्नुभएको रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देही उपस्थित भएर थुनामुक्त हुनु भएको छ । उहाँ आज साँझ अदालत उपस्थित हुनु भएको थियो । तुलसीपुर उच्च अदालतको थुनामुक्त हुने आदेशपछि आवश्यक कागजी प्रक्रिया पूरा गरेर लामिछाने थुनामुक्त हुनु भएको हो ।

 खराब मौसमका कारण काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न नपाएपछि चितवनको भरतपुर विमानस्थल भएर सडकमार्गबाट रुपन्देही पुग्नुभएको हो । जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले कानुन व्यवसायीको रोहबरमा सनाखतकालागि पहिल्यै कागजात तयारी अवस्थामा राखेका कारण छिट्टै काम सकिएको बताउनुभयो ।

 जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण आज पर्खेर भएपनि कागजी प्रक्रिया पूरा गरिएको अर्यालले बताउनुभयो । उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बराबरको रकम बुझाएर लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

 यसैबीच, जिल्ला अदालत परिसर र गौतमबुद्व विमानस्थल बाहिर समर्थकले नाराबाजी गरेका थिए । लामिछाने थुनामुक्त भएलगत्तै पार्टीको मूल नेतृत्वमा फर्कने रास्वपाले जनाएको छ ।