ट्रम्प प्रशासनद्वारा अमेरिकामा ग्रिन कार्ड दिन अस्थायी रुपमा बन्द
- काठमाडौंअमेरिकामा स्थायी बसोबासका लागि प्रदान गरिँदै आएको ग्रिन कार्ड भिसा दिन बन्द गरिएको छ । केहिदिन अघि ब्राउन विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा भएको गोली काण्डको घटनालाई आधार मान्दै अमेरिकाले सो भिसामा रोक लगाएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार तत्कालका लागि सो भिसा वितरणमा रोक लगाइएको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
ब्राउन विश्वविद्यालयमा गोली चलाउने मुख्य शंकास्पद व्यक्तिले समेत सो भिसा लिएर अमेरिका प्रवेश गरि आपराधिक गतिविधि गरेको पाइएपछि भिसा वितरणमा अस्थायी रुपमा रोक लगाइएको छ । सो घटनामा एक ४८ वर्षीय पोर्चुगिज नागरिक संलग्न रहेको पाइएको समाचारमा उल्लेख छ ।
गोली काण्डमा २ जना विद्यार्थीको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । सन् २०२५ मा मात्र सो भिसा प्राप्तिका लागि २ करोड बढीले आवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले प्रत्येक वर्ष ५० हजार जनालाई ग्रिन कार्ड उपलब्ध गराउँदै आएको समाचारमा जनाइएको छ ।