मुख्य समाचार

एक संगठनको हड्तालको काठमाडौंमा आंशिक प्रभाव

काठमाडौं ।

एक विद्यार्थी संगठनले आव्हान गरेको शैक्षिक हड्तालको प्रभाव काठमाडौं उपत्यकामा आंशिक देखिएको छ । जनपक्षीय विद्यार्थी युनियन नामक संगठनलें उपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेपछि केही विद्यालय बन्द भएका छन् । उपत्यकाका केही विद्यालयले विद्यार्थी र अभिभावकलाई सूचना पठाएर आज विद्यालय बन्द रहने जानकारी दिएका छन् । नेकपा जनपक्षीय पार्टी निकट विद्यार्थी संगठन जनपक्षीय विद्यार्थी युनियन, नेपालले विभिन्न १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको जनाएको छ । युनियनले विद्यालयले उठाउँदै आएको शूल्कमा ५० प्रतिशत घटाउनुपर्ने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्णरूपमा लागु हुनुपर्ने माग गरेको छ । युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले विदेशमा रहेका नेपाली विद्यार्थीले आउँदो चुनावमै भोट हाल्न पाउनुपर्ने अर्को माग रहेको बताउनुभयो । 

 सरकारी विद्यालयमा अंग्रेजी र राष्ट्रिय भाषामा अध्ययन–अध्यापन गराउनुपर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक ५ सय रुपैयाँ विद्यार्थी भत्ता उपलब्ध गराउनुपर्ने युनियनको माग छ । त्यस्तै युनियनले कलेज पढेका विद्यार्थीलाई न्यूनतम १० लाख रुपैयाँसम्मको सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै शैक्षिक हड्ताल घोषणा गरेको जनाएको छ ।