ओलीलाई लगाइएको स्थान हद हटाउन सरकार लचिलो बन्न सक्छ : सञ्चारमन्त्री खरेल
काठमाडौंराजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयहरुको निरीक्षण गरेको छ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समितिले निरीक्षण गरेको हो ।
टोलीले पालैपालो नेपाली कंग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीका कार्यालयको अनुगमन गर्दै ती दलका नेतासँग परामर्श समेत गरेको थियो । कांग्रेस पार्टी कार्यालय निरक्षणपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभयो ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय निरीक्षणपछि मन्त्री खरेलले सरकारका तर्फबाट स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे संकेत गर्दै मन्त्री खरेलले त्यसमा सरकार लचिलो बन्ने संकेत बताउनुभयो ।
यसअघि एमाले उपमहासचिव रघुवीर महासेठले सरकारले चुनावको वातवरण बनाउन एमाले अध्यक्ष ओलीलाई लगाएको स्थानहद हटाउनुपर्ने बताउनुभएको थियो । यसैबीच, कांग्रेसका उपसभापति धनराज गुरूङले जेन–जीहरुले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताउनुभएको छ । सरकारी वार्ता समितिसँगको छलफलमा उहाँले निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने बताउनु्भएको हो ।
निर्वाचन समयमै सम्पन्न गर्न राजनीतिक दल र सर्वपक्षीय वार्ता भइरहेको भन्दै राजनीतिक संवाद समितिले आन्दोलनका क्रममा भएको क्षतिबारे निरीक्षण थालिएको हो ।