मुख्य समाचार

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

काठमाडौं

आगामी निर्वाचनलाई लक्षित गरी राजतन्त्र पक्षधर राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । चुनाव अगाडी दलहरुबीच तीव्र धु्रविकरणको सम्भावना बढिरहेका बेला राजावादी शक्ति एक ठाउँमा उभिन लागेका हुन् । यसैक्रममा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

 राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुई दलबीचको एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको बताउनुभयो । दुई पार्टीको एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने श्रेष्ठले बताउनुभयो । पद बाँडफाँड लगायत बिषय पछि मिलाउने गरी अघि बढ्न दुवै दलका नेता तयार भएका छन् । 

२०७८ सालमा भएको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको थियो । लगत्तै थापाले राप्रपा नेपाल गठन गर्नुभएको थियो । राजावादी शक्तिहरु कमजोर हुँदै गएको टिप्पणीमाझ लिङदेन र थापा पार्टी मिलाउन सहमत भएका हुन् ।