लुम्बिनी साक्षर प्रदेश घोषणा
- दाङलुम्बिनी प्रदेश साक्षर घोषणा भएको छ । आज राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई साक्षर घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने उहाँको भनाई छ । प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६ दशमलव १६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।
यस्तै लुम्बिनी प्रदेशमा ५ हजार ७ सय २२ सामुदायिक बालविकास केन्द्र, ४ हजार ४ सय ३९ सामुदायिक विद्यालय, तीन वटा विश्वविद्यालय, १ सय ८७ क्याम्पस र ३ सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन् । प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २ सय ७२ विद्यार्थी अध्ययनरत छन् ।