फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेश गर्ने क्रम शुरु
काठमाडौंआगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेश गर्ने क्रम शुरु भएको छ । आयोगले समानुपातिक बन्द सूची बुझाउन आज र भोलिका लागि समय तोकेको छ । आयोगका अनुसार आज अपरान्हसम्म नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी सहित तीन वटा दलले सूची बुझाएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूची पेश गर्ने कार्यका लागि दुई चरणमा काम भइरहेको जानकारी दिनुभयो ।
बन्दसूची पेश गर्ने दलले न्यूनतम ११ र अधिकतम १ सय १० जनाको नाम पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । बन्दसूची बुझाउँदा जातिय कलस्टर अनुसार नाम समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।
१ सय १० जनाको उम्मेदवारको मनोनयन पेस गर्ने दलले ३२ जना आदिवासी जनजाति, ३३ जना खस आर्य, ७ जना थारु, १३ जना दलित र १६ जना मधेशी समुदायबाट नाम पेस गर्नुपर्ने छ । तीमध्ये महिला उम्मेदवार ५२ जना हुनुपर्ने छ । ४ जनाले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गरेको हुनुपर्ने छ । यसैबीच, नेपाली कंग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायत दलहरु समानुपातिक सूची तयार पार्न आन्तरिक गृहकार्यमा लागेका छन् ।