फागुन २१ मा हुने निर्वाचनको बन्दसूचि बुझाउने क्रम जारी/अपरान्हसम्म ९ दलको सूचि पेश
काठमाडौंआगामी प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले समानुपातिकको बन्दसूचि बुझाउने क्रम जारी छ । बन्दसूचि बुझाउने आज अन्तिम दिन हो । यो समाचार तयार पार्दासम्म ९ दलले समानुपातिकको बन्दसूचि बुझाएका छन् ।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (नेपाल), समावेशी समाजवादी पार्टी लगायत दलले बन्दसूचि बुझाएका हुन् ।
प्रमुख राजनीतिक दल कंग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायत दलले भने बन्दसूचि बुझाउन बाँकी छ । बन्दसूचि बुझाउन दलका नेताहरु काठमाडौंको बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । समानुपातिकको सूचि बुझाउन ४२ वटा दलले निस्सा लिएको बताइएको छ ।
अपरान्ह ४ बजेसम्मका लागि समयावधि तोकिएपनि प्रक्रिया जारी रहेकाले राति अवेरसम्म बन्दसूचि बुझाउन पाइने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । यसैबीच, नेपाली कंग्रेसले संस्थापन पक्षका ६० प्रतिशत र इतर पक्षका ४० प्रतिशतको नाम समावेश गरेर बन्दसूचि तयार पारेको बताइएको छ । त्यस्तै, एमालेले अध्यक्ष केपी ओलीबाट अन्तिम रुपमा दिइएको बन्दसूचि बुझाउँदैछ ।