सुनसरीमा सशस्त्रको गोलि प्रहारबाट एकजनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त
- सुनसरीसुनसरीको कोसी गाँउपालिकामा शसस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय बिजय साहको मृत्यु भएको पुष्टी भएपछी सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । अनुसन्धानका क्रममा तस्करी नियन्त्रणको लागि खटिएको शसस्त्र प्रहरीले गएराती गोली चलाउदा ४५ बर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो । सीमावर्ती क्षेत्रबाट दुई तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउदै गर्दा प्रहरीसंग दोहोरो भिडन्त भएको शसस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले बताउनुभयो।
न्यौपानेका अनुसार तस्करीमा संगलग्नहरुले शसस्त्र प्रहरीको टोलीमाथी आक्रमण गरेपछी जवाफी कारवाही गर्दा शाहको मृत्यु भएको हो । न्यौपानेका अनुसार सिटी सफारी तथा अटोमा अबैधरुपमा भारतीय क्षेत्रबाट सामान ल्याउदै गरेको अवस्थामा रोकेर जाँचबुझ प्रहरी टोलीमाथी नै आक्रमण भएपछी जवाफी फायरिङका क्रममा एक जनाको मृत्यु भयो । शाहको शसस्त्र प्रहरीले हत्या गरेको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन गरेपछी लौकही बजार तनावग्रस्त बनेको छ ।
आक्रोशित स्थानीयले साहको शव पूर्वपश्चिम राजमार्ग स्थित लौकही बजारमा राखेर यातायात ठप्प बनाएका छन भने शसस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन्। आक्रोशित स्थानीयले प्रहरी माथि ढुङ्गामुढा गरेका छन् भने प्रहरीले भीड तितरबितर पार्न हवाईफायर गरेको छ ।
उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथी कारवाही तथा पिडितलाई क्षतीपूर्ती दिनुपर्ने भन्दै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेको हाम्रा सहकर्मीले जनाएका छन् । पिडित पक्ष र प्रशासनबिच छलफल गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।