सुनसरीको लौकही बजार सामान्य अवस्थामा फर्किदै/मृतकका परिवारसँग ५ वूदे सहमति
- सुनसरीसशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्यु भएपछि दिनभर तनावग्रस्त बनेको सुनसरीको लौकही बजार सांँझपछि सामान्य अवस्थामा फर्किएको छ । मृतक परिवारलाई तत्काल एक लाख रुपैया किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएसंगै त्यहाँको अवस्था साम्य भएको हाम्रा सहकर्मी अर्जुन सुवेदीले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा घटनाबारे छानविन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएसँगै साहका परिवारले शव उठाउन दिएका थिए ।
सहमति अनुसार घटना छानबिनका लागि गठन गरिने सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ । सुरक्षा अधिकारीको लापरवाहीका कारण साहको मृत्यु भएको ठहर भएमा प्रचलित नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति समेत भएको छ ।
त्यसैगरी मृतक साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल गर्ने र सहजीकरण गर्ने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले हिजो राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।