पूर्व राजा शाहको चिन्ताः “देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ”
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढ्न अपिल गर्नुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको आरोप समेत लगाउनुभएको छ । मुलुकको भूराजनीतिको चपेटामा फसेको चर्चा गर्दै गणतन्त्र स्थापनापछि उत्पन्न असन्तुष्टी र आक्रोशको बिषयलाई उक्त सन्देशमा समेटिएको छ ।
गणतान्त्रिक व्यवस्था र मुलुकको परिस्थितिलाई लिएर विभिन्न अवसर र सन्दर्भमा अभिव्यक्ति दिदै आएका पूर्व राजा शाहले फेरि एक पटक आफूले राजकाज छाडेको बिषयलाई प्रमुखका साथ उठाउनुभएको छ । उहाँले देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको बताउनुभएको छ । पूर्व राजा शाहले भन्नुभएको छ–“नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।”
२०६२÷२०६३ को जनआन्दोलन र सशस्त्र विद्रोहको जगमा गठित संविधानसभाले मुलुकलाई गणतन्त्रमा प्रवेश गराएपछि २ सय ४० बर्ष लामो शाहंवशीय राजतन्त्र समाप्त भएको थियो । तर मुलुकको अवस्थामा सुधार हुन नसक्दा राजतन्त्र फर्काउने प्रयास गरेको भन्दै आलोचना खेपिरहेका पूर्वराजा शाहले वर्तमान परिस्थितिको प्रसंग जोड्दै मुलुकको भविष्यमाथि चिन्ता व्यक्त गर्नुभएको छ । देशबाट जनशक्ति मात्र नभई अब पुँजी र उद्यमी समेत पलायन हुन थालेको उहाँको भनाइ छ । जेन–जी आन्दोलनतर्फ संकेत गर्दै युवा पुस्ताको आवश्यकता र भावनालाई सम्बोधन नगर्दा असन्तोष पैदा हुने र त्यसले विद्रोहको रूप लिन सक्ने पूर्वराजा शाहले आफ्नो सम्वोधनमा उल्लेख गर्नुभएको छ । दलप्रति लक्षित गर्दै उहाँले भन्नुभएको छ–“ भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ ।”
प्रमुख राजनीतिक दलका नेताले जस्तै पूर्व राजा शाहले बदलिँदो भू–राजनीतिक परिस्थितिको बिषयलाई जोड्दै राष्ट्रिय हितको मुद्धा उठाउनुभएको छ । नेपालले मित्रराष्ट्रहरूको विश्वास गुमाउँदै गएको उहाँको ठहर छ । सन्देशमा भनिएको छ–“ नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्त्किो कवज हुनै पर्दछ ।”
राजावादी शक्तिहरुले उठाउँदै आएको नवीन समझदारी अवधारणासँग मेल खाने गरी पूर्वं राजा शाहले सबै पक्षको सहमतिमा अघि बढ्न आव्हान गर्नुभएको छ । तर निरकुंश शासन चलाउँदा र लोकतान्त्रिक बाटोमा अघि बढ्न नसक्दा राजतन्त्र नै अन्त्य भएको अनि आफूबाट भएको गल्ती र कमजोरीलाई भने पूर्व राजा शाहले महसुस र बोध भने पछिल्लो सन्देशमा समेत गरेको पाइदैन ।