नेपाली कांग्रेसको विशेष महाधिवेशन भोलिसम्म लम्बियो
काठमाडौंनेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सम्म लम्बिने भएको छ । बन्दसत्रमा महामन्त्रीद्धय गगन थापाले राजनीतिक र विश्वप्रकाश शर्माले संगठन सम्बन्धी पेश गरेको प्रतिवेदन माथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक भोलिसम्म लम्बिने बताइएको छ ।
बैठक भोलिसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताउनुभयो । भोलि नै नेतृत्व चयनसमेत थालिने उहाँको भनाइ छ । बन्दसत्रमा नयाँ नेतृत्व चयन प्रक्रियासहितको कार्यविधि पारित गरिएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिलाई विभिन्न ९ वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिँदैछ । महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले भने नीतिसँगै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेताहरुले २८ सय भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको दावी गरेका छन् ।नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने भएपछि कांग्रेसभित्रको संकट गहिरिएको छ ।