मुख्य समाचार

निर्वाचन आयोगद्वारा थापा नेतृत्वको कांग्रेसलाई मान्यता

काठमाडौं

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ । आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले नाराबाजीदेखि निवेदन दिनेसम्मका काम गरिरहेकै बेला निर्वाचन आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनबाट बनेको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

 आयोगको निर्णयसँगै नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्व आधिकारिक भएको छ । आयोगको निर्णय अनुसार पार्टीको चुनाव चिन्ह रूख र चारतारे झन्डासहित आधिकारिक कांग्रेस गगन थापा नेतृत्वको बनेको छ । निर्वाचन आयोगले केही आधार मानेर विशेष महाधिवेशनबाट निर्वाचित भएका थापा समूहलाई मान्यता दिएको छ । 

आयोगको बैठकले सो निर्णय लिनका लागि राजनीतिक दलसम्बन्धी ऐन, संविधान र नेपाली कांग्रेसको विधानमा टेकेको छ । आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानतः भएको स्पष्ट पारेको उल्लेख गरेको छ ।

 आयोगले थापा पक्षलाई वैध ठहर्याएपछि शेरबहादुर देउवा पक्षधर नाराबाजीमा उत्रिएका छन् । देउवा पक्षीय तरुण दल, नेविसंघसहितका नेता, कार्यकर्ताले निर्णय नमान्ने भन्दै नाराबाजीमा उत्रिएका हुन् ।