मुख्य समाचार

सर्वोच्च अदालतमा कांग्रेसको देउवा पक्षको रिट

काठमाडौं

विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकता बदर गर्न माग गर्दै शेरबहादुर देउवाको समूह सर्वोच्च अदालत पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा टोली रिटसहित सर्वोच्च अदालत पुगेको हो ।

रिटमा निवेदक शेरवहादुर देउवा र पूर्णबहादुर खड्का हुनुहुन्छ । सुनुवाइको मौका समेत नदिइ आयोगले गरेको निर्णय गैरकानूनी रहेको भन्दै उनीहरुले उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरेका छन् । 

सो पक्षका नेता मीन विश्वकर्माले षड्यन्त्रपूर्वक रुपमा आयोगले गरेको निर्णयविरुद्ध रिट निवेदन पेश गरेको जानकारी दिनुभयो । कांग्रेसको निवर्तमान कार्यसमितिको बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित रिट दिइएको हो । 

नेता विश्वकर्माले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभाको समानुपातिकका लागि सभापतिको रुपमा देउवाको हस्ताक्षर भएको जिकिर समेत गरिएको बताउनुभयो । सो पक्षले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयनको मिति सार्न समेत माग गरेको छ ।

रिटमाथिको पेशी पर्सी ६ गतेका लागि तोकिएको छ । यसैबीच, देउवा पक्षले अदालतमा पेश गरेको रिटसहित प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति परिवर्तनका लागि निर्वाचन आयोगलाई समेत आग्रह गरेको छ । 

आयोगको निर्णयका कारण कंग्रेसलाई दलीय रुपमा निर्वाचनमा भाग लिन वञ्चित गर्न खोजिएको भन्दै अदालतबाट न्याय निरुपण नभएसम्म मनोनयन दर्ताको मिति सार्न आग्रह गरिएको हो ।