काठमाडौंको मेयर पद परित्याग गर्दै बालेन्द्र शाह चुनावी अभियानमा
काठमाडौंकाठमाडौं महानगरपालिकाको मेयर पद परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले आगामी निर्वाचनको अभियान शुरु गर्नुभएको छ । मेयरबाट राजिनामा दिएलगत्तै शाहले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा गएर वरिष्ठ नेताको पदभार गर्नुभएको छ । १० मिनेट जति पार्टी कार्यालयमा विताएपछि उहाँ आजै चुनावी अभियानका लागि जनकपुर पुग्नुभएको छ ।
रास्वपाले भोलि जनकपुरमा गर्ने चुनावी अभियानका लागि शाह त्यहाँ पुग्नुभएको हो । वरिष्ठ नेता शाह भोलि सिरहाको लहानमा मधेस आन्दोलनको सम्झना आयोजना गरिने बलिदानी दिवसको कार्यक्रममा समेत सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।
त्यसपछि अपरान्ह एक बजे जनकपुरमा हुने चुनावी कार्यक्रममा सहभागी हुने तय भएको हाम्रा सहकर्मीले जनाएका छन् । उहाँको सचिवालयका एक सदस्यका अनुसार शाहले मैथिली भाषामा लिखित भाषण गर्ने सम्भावना छ । झापा ५ बाट चुनाव लड्ने तयारी गरेपनि टुंगो भने लागिसकेको छैन । अघिल्लो स्थानीय तहको निर्वाचनमा ६१ हजार भन्दा बढी मतसहित मेयर बनेका शाहले कार्यकाल पुरा नहुँदै पदबाट राजिनामा दिएर दलीय राजनीति प्रारम्भ गर्नुभएको हो ।