कंग्रेसमा एकताका लागि पहलः सभापति थापालाई स्वीकार गर्ने देउवा पक्षको संकेत
काठमाडौंविशेष महाधिवेशनबाट निर्वाचित नेपाली कंग्रेसको केन्द्रिय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि रुष्ट बनेको शेरवहादुर देउवा पक्षलाई सहमतिमा ल्याएर पार्टीको आन्तरिक एकता जोगाउन पहल शुरु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको टिकट वितरणमा सबै पक्षलाई समेटेर पार्टी एकता जोगाउन नेताहरु सघन सम्वादमा रहेको बुझिएको छ । सहमतिका लागि सभापति गगन थापा र निवर्तमान सभापति शेरवहादुर देउवावीच छलफल भइरहेको नेताहरुले बताएका छन् । थापा निकट एक नेताका अनुसार, टिकट वितरणमा सबै पक्षलाई समेट्ने र एकताको सन्देश दिने गरी मनोनयन दर्तामा सहमति खोज्ने पहल भइरहेको हो । देउवा पक्षीय नेताहरुले सभापति थापाको हस्ताक्षरमा टिकट लिन तयार रहेको र पार्टी एकता जोगाउन प्रतिवद्धता रहेको धारणा आपसी सम्वादमा राखेका छन् ।
यसैबीच, देउवापक्षीय नेता पूर्णबहादुर खड्काले पार्टीबाट विद्रोह नगर्ने बताउनुभएको छ । हिजो राति सामाजिक सञ्जालमार्फत खड्काले नयाँ पार्टी खोल्ने अथवा स्वतन्त्र उम्मेदवारी दिने जस्ता चर्चामा सत्यता नभएको बताउनुभएको छ । खड्काले भन्नुभएको छ–निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि न्याय पाउने विश्वासका साथ हामी सर्वोच्च अदालत गएका हौँ । अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ । रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ ।’
देउवा पक्षका अर्का नेता मीन विश्वकर्माले पनि चुनावमा मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ– हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो, आधामा देउवाले गर्नु भयो, वांकीमा अव गगनले गर्नु हुन्छ, सवैको सहमतिमा उम्मेदवार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! नेता विश्वकर्माले सहमतिका लागि सबै शीर्ष नेता सम्वादमा बस्नुपर्ने र घेरावन्दीवाट वाहिर आउनुपर्ने धारणा समेत राख्नुभएको छ ।