बालेन्द्रलाई प्रधानमन्त्री बनाउने घोषणासहित रास्वपाद्धारा पहिलो चुनावी कार्यक्रम
जनकपुरआगामी निर्वाचनपछि वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेस प्रदेशको जनकपुरमा पहिलो पटक चुनावी कार्यक्रम आयोजना गरेको छ ।
“परिवर्तन उद्घोष सभा” नाम दिएर रास्वपाले कार्यक्रम गरेको हो । जनकपुरको तुरहुतिया गाछीमा आयोजना गरिएको सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै रास्वपा सभापति लामिछानेले देश विकासको अभियानका लागि मधेसमा आएको बताउनुभयो ।
मधेसले अब इतिहास लेख्ने उहाँको भनाइ थियो । आगामी निर्वाचनबाट पहिलो शक्ति बन्ने योजना रहेको लामिछानेले उल्लेख गर्नुभयो । रास्वपाले प्रतिशोधको राजनीति नगर्ने उहाँको भनाइ थियो । सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मैथिली भाषामा बोल्नुभएको थियो ।
सही व्यक्तिलाई प्रधानमन्त्री बनाउन आफूहरुलाई भोट दिन शाहले आग्रह गर्नुभयो । मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिस एकै ठाउँमा जुटेको उल्लेख गर्दै उहाँले देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्ने बताउनुभयो ।
संघीयतालाई बलियो बनाउनुपर्ने पक्षमा रहेको भन्दै शाहले अधिकार माग्न नभई घुम्न मात्र काठमाडौं जानुपर्ने बताउनुभयो । यसैबीच, रास्वपाका वरिष्ठ नेता शाहले झापा–५ को प्रतिनिधिसभा सदस्यको टिकट लिनुभएको छ ।
सभापति लामिछानेले उहाँलाई टिकट दिनुभएको हो । जनकपुरको कार्यक्रम सकेर शाह मनोनयनका लागि झापा जाँदै हुनुहुन्छ ।