प्रमुख नेताहरुको उम्मेदवारी दर्ता
काठमाडौंआगामी फागुन २१ गतेको निर्वाचनमा चार पूर्व प्रधानमन्त्रीले समेत विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ नम्वर क्षेत्रमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यस्तै, अर्का पूर्व प्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वमा उम्मेदवारी दिनुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले रौतहट क्षेत्र नम्वर १ बाट मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही ४ बाट उम्मेदवारी दिनुभएको छ ।
यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झापा तीन नम्वर क्षेत्रमा उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनमा क्षेत्र नम्वर २ मा वारेस मार्फत मनोनयन दर्ता गराउनुभएको छ ।
त्यस्तै, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ नम्बर क्षेत्रबाट मनोनयन दर्ता गर्नुभएको छ । सो क्षेत्रमा नेकपाका रञ्जित तामाङ र नेपाली कांग्रेसकी मन्धरा चिमरियाले उम्मेदवारी दिनुभएको छ ।
एमालेका नेता इश्वर पोखरेलले काठमाडौं क्षेत्रमा ५ मा उम्मेदवारी दिनुभएको छ । सो क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल र राप्रपाबाट कमल थापाले समेत उम्मेदवारी दिनुभएको छ ।
यसैबीच एमाले महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिनुभएको छ । एमाले सचिव महेश बस्नेतले भक्तपुर क्षेत्र नम्वर २ मा मनोनयन दर्ता गर्नुभएको छ ।