मुख्य समाचार

पर्सा जिल्ला अदालतद्वारा रवि लामिछानेसँग १ करोड धरौटी माग

काठमाडौं

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । 

न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि आज सो धरौटी माग गरेको हो । लामिछाने आज जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित हुनु भएको थियो । 

अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको तहसिलदार देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँले धरौटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने बताउनुभयो। 

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो। त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाउपर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । 

सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हब्र्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।