मुख्य समाचार

निर्वाचनका लागि मनोनयन दर्ता गरेका ५ जनाविरुद्ध उजुरी

काठमाडौं

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये पछिल्लो विवरण अनुसार ५ जना उम्मेदवारविरूद्ध उजुरी परेको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीसहितका उम्मेदवारविरुद्ध उजुरी परेको हो । 

पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिनुभएको छ । उहाँविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ । 

त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका चौधरीविरूद्ध पनि उजुरी दर्ता भएको छ । टिकापुर हत्याकान्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपनि चौधरीलाई राष्ट्रपतिबाट सजाय माफी दिइएको थियो । 

त्यस्तै, सुनसरी–२ मा रास्वपाका उम्मेदवार लालबिक्रम थापा तथा भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ । 

ती उजुरीमाथि जाँचबुझ गरी आयोगले उनीहरुको उम्मेदवारीबारे निर्णय गर्नेछ । घोषित तालिका अनुसार आयोगले पर्सी शुक्रवार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ । १ सय ६५ निर्वाचन क्षेत्रमा गरी ३ हजार ४ सय ८४ उम्मेदवार भएका छन् ।