विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै श्रीपञ्चमी मनाइँदै
काठमाडौंविद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी पर्व मनाईदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा मनाउने गरिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो र रात छोटो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
आजकै दिनबाट बालबालिकाहरुलाई औपचारिक रुपमा अक्षर आरम्भ गराउने प्रचलन छ । श्रीपञ्चमी पर्वका अवसरमा विद्यार्थी, शिक्षक, साहित्यकार, चित्रकार, गायक, नर्तक लगायत विद्या साधकले आ–आफ्ना कला साधनाका सामग्रीको विशेष पूजा गर्ने गर्दछन्। आजको दिन बालबालिकाको नाक कान छेड्नका लागि पनि उत्तम दिनका रुपमा लिइने गरिन्छ । शुभ कार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रुपमा समेत लिने गरिन्छ ।
यसैबीच, मुलुकभरका सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेले लगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लागेको छ ।