मुख्य समाचार

निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाद्धारा उम्मेदवारी फिता

काठमाडौं

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । माघ ६ गते उम्मेदवारी दर्ता गरेकामध्ये स्वतन्त्र र विभिन्न दलबाट गरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा ६८ वटा राजनीतिक दल र स्वतन्त्र गरी ३ हजार ४ सय ८७ जनाले उम्मेदवारी दिएका थिए । 

उम्मेदवारी फिर्ता लिनेमा ४५ जना पुरुष र ४ जना महिला छन् । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । उम्मेदवारी फिर्ता गर्ने धेरैजसोले राजीखुसी फिर्ता गरेको उल्लेख गरेका छन् । 

यसैबीच, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदरवारी दिएका भट्टराईले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । 

दलगत राजनीतिबाट माथि उठेर आगामी दिनमा बन्ने सरकारलाई सहयोग गर्न विभिन्न दल र व्यक्तिको सुझावपछि आफू निर्वाचन नलड्ने निर्णयमा पुगेको भट्टराईको भनाइ छ । 

दलगत राजनीतिमा रहँदा संकुचित हुने तथा राष्ट्रियताको सवालमा आफ्नो भूमिका कमजोर हुने देखिएपछि उम्मेदवारी फिर्ता लिएको पूर्व प्रधानमन्त्री भट्टराईको दावी छ ।

 मुलुकलाई अवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धतासहित निर्वाचनको प्रतिस्पर्धाबाट अलग भएको उहाँले बताउनुभयो । प्रमुख दलका शीर्ष तहका नेताले पुनः सांसद् बन्न निर्वाचनमा होमिएका बेला पूर्व प्रधानमन्त्री भट्टराईले भने अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिनुभएको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धा हुनुहुन्छ ।