मुख्य समाचार

राष्ट्रिय सभाका १७ सिटका लागि मतदान जारी

काठमाडौं

देशभरका विभिन्न मतदान केन्द्रमा अहिले राष्ट्रिय सभाको निर्वाचन चलिरहेको छ । रिक्त हुने १७ जना सदस्य चयन सातै प्रदेशमा मतदान भइरहेको हो । 

कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा भने निर्विरोध निर्वाचित भइसक्नु भएको छ । बाँकी १७ पदका लागि सातवटै प्रदेशका मतदानस्थलमा मतदान जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

आगामी २० फागुनबाट १९ पद रिक्त हुँदैछ । एक जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छन् । जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयां सदस्य निर्वाचित गर्ने व्यवस्था अनुरुप सातै प्रदेशमा निर्वाचन गरिएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष मतदाता हुन्छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन राजीनामा दिएका प्रदेशसभाका १६ सदस्य र स्थानीय तहका ११ पदाधिकारीले मत खसाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५ सय ४५ प्रदेशसभा सदस्य र पालिकाका प्रतिनिधि १ हजार ४ सय ९७ जना छन् । 

प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार र पालिका पदाधिकारीको १ मत बराबर १९ मतभार छ । निर्वाचन आयोगका अनुसार आज साँझ अबेरसम्ममा नतिजा आउनेछ ।