राष्ट्रियसभाको रिक्त १८ सिटका लागि भएको निर्वाचन सम्पन्न
- काठमाडौंराष्ट्रियसभाको रिक्त १८ सिटका लागि आज भएको निर्वाचन सम्पन्न भएको छ । कोशी प्रदेशमा महिलातर्फ एमालेकी रोशनी मेचे र दलित तर्फ एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
कर्णालीमा राष्ट्रियसभाका दुई पदका लागि भएको निर्वाचनमा अन्य कलस्टरबाट कांग्रेसका ललितजंग शाही र महिलातर्फ एमालेकी मिनासिं रखाल निर्वाचित हुनुभएको छ । हामीलाई प्राप्त विवरण अनुसार गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा र अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी हुनुभएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । ३ पदका लागि भएको निर्वाचनमा महिलातर्फ एमालेकी रामकुमारी झाँक्री, खुलातर्फ कंग्रेसका चन्द्रबहादुर केसी र अपांगतातर्फ कंग्रेसका बासुदेव घिमिरे निर्वाचित हुनुभएको छ ।
मधेसमा दलिततर्फ धर्मेन्द्र पासवान र अपाङ्गतातर्फ रञ्जित कर्ण निर्वाचित हुनुभएको छ । बागमतिमा महिलातर्फ गीता देवकोटा र अन्यमा प्रमप्रसाद दंगाल निर्वाचित हुनुभएको छ । सुदुरपश्चिम प्रदेशमा महिलातर्फ लीलाकुमारी भण्डारी र अन्यतर्फ खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ ।
आगामी फागुन २० बाट १९ पद रिक्त हुनेमध्ये एकजना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयां सदस्य निर्वाचित गर्ने व्यवस्था अनुरुप सातै प्रदेशमा निर्वाचन गरिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, पालिका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष मतदाता हुन्छन् । राष्ट्रिय सभा निर्वाचनमा कंग्रेस, एमाले र लोकतान्त्रिक समाजवादीबीच भागबन्डा भएको थियो । जसअनुसार कंग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिट लिने गरी सहमति भएको हो ।