मुख्य समाचार

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जानुहुँदै

काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान प्रस्थान गर्न लाग्नु भएको हो ।

आज राति साढे ११ बजे उहाँ जापानका लागि प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । भोलि उहाँले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवकोे विशेष समारोहमा सहभागिता जनाउनुहुने छ । 

पर्सी राजधानी टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव अमृत राईले जानकारी दिनुभयो । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । 

यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल आगामी बुधबार दिउँसो साढे ४ बजे स्वदेश फर्कने कार्यतालिका छ ।