मुख्य समाचार

जेन जी आन्दोलनपछि पहिलो पटक बसेको राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित

काठमाडौं

जेन जी आन्दोलनपछि पहिलो पटक बसेको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले तीन वटा विधेयक पारित गरेको छ । माघ ४ गतेबाट शुरु भएको राष्ट्रिय सभाको १९ औं अधिवेशनका क्रममा तीन वटा अध्यादेश समेत स्वीकृत भएका छन् । राष्ट्रिय सभाले पर्यटन विधेयक, चलचित्र विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित गरेको हो । एउटा विधेयक भने विधायन समितिमा पठाइएको छ। 

राष्ट्रिय सभाको बैठकमा झन्डै एक दर्जन प्रतिवेदन पेश भएका थिए । सभाले राष्ट्रिय सदाचार नीति र अध्यागमन ऐनसम्बन्धी प्रतिवेदनसहित केही प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई निर्देशन समेत दिएको छ । १९ औं अधिवेशन फलदायी भएको अध्यक्ष नारायण दाहालले बताउनुभयो ।

जेन जी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडबाट संसद भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गरिएको थियो । यसैबीच, सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्नुभएको छ ।