मुख्य समाचार

निर्वाचनका लागि दल र उम्मेदवारद्वारा औपचारिक रुपमा प्रचार प्रसार सुरु

काठमाडौं

आगामी निर्वाचनका लागि दल र उम्मेदवारले औपचारिक रुपमा चुनावी प्रचार प्रसार शुरु गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि आगामी १८ गतेसम्म औपचारिक रुपमा प्रचार–प्रसार गर्ने कार्यतालिका तोकेको छ । यो अवधिमा जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । 

निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले आग्रह गरेको छ । प्रचार प्रसारका क्रममा आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनलाई पनि तिब्रता दिने जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको जानकारी दिनुभयो ।

 आयोगले आचारसंहिता उलंघन गर्नेको उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्थाबारे स्मरण गराएको छ । कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट वा अन्य कुनै प्रकारले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले स्पष्ट पारेको छ ।