मुख्य समाचार

नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आगामी चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । ५ वर्षमा कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै सो पार्टीले त्यसका लागि राज्यका निकाय जिम्मेवार बन्नुपर्ने समेत बताएको छ। 

नेकपा संयुक्तले पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून, राजनीतिलगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने ध्येयका साथ निर्देशित गर्नुपर्ने अवधारणा घोषणापत्रमा समेटेको छ। 

त्यस्तै, आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । नेकपा संयुक्तले आगामी १० वर्षमा ३० लाख पर्यटक भित्याउने र १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजनालाई चुनावी एजेन्डा बनाएको छ । घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुषालले चुनाव जितेर आएपनि आफुहरु सरकारमा सहभागी नहुने बताउनुभयो ।

निजीकरणका कारण मुलुकले दीगो विकास र समृद्धि हासिल गर्न नसकेको भुषालले उल्लेख गर्नुभयो । उदारवाद नीति लिएर गलत बाटोमा हिडेकाले मुलुकले उन्नति गर्न नसकेको उहाँले चर्चा गर्नुभयो। नेकपा संयुक्तले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ३५ क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ भने समानुपातिकमा १ सय ९ जनालाई बन्दसूचिमा राखेको छ ।