राजासहितको नवीन समझदारीका लागि सहमतिमा आउन दलहरुलाई राप्रपाको आग्रह
काठमाडौंराष्ट्रिय सहमतिपछि मात्र निर्वाचनमा जानु उचित हुने पूर्व राजा ज्ञानेन्द्र शाहको धारणाप्रति राप्रपाले समर्थन जनाएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा पूर्व राजा शाहले हिजो सबै पक्षबीच समझदारी नभई चुनावमा जाँदा थप समस्या आउने बताउनुभएको थियो । आज बसेको राप्रपाको पदाधिकारी बैठकले राजासहितको नवीन समझदारीका लागि सहमतिमा आउन दलहरुलाई आग्रह समेत गरेको छ ।
यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा शाहको सुझावलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । सुनसरीको चक्रघट्टीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थामा परिवर्तन नभएसम्म मुलुकको समस्या समाधान नहुने बताउनुभयो ।यसैबीच, चुनावी अभियानका क्रममा राप्रपाका अध्यक्ष लिङदेन मधेसको जिल्लामा जाने तय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।