चुनावी कारोवारका लागि छुट्टै बैंक खाता खोल्न ढिलाइ नगर्न आयोगको आग्रह
काठमाडौंनिर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई ताकेता गरेको छ । नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार हालसम्म ७ दल तथा ८ हजार ८ सय ६७ उम्मेदवारले बैंक खाता खोलेका छन् । निर्वाचन आचारसंहिता र कार्यविधि अनुसार नै उम्मेदवाहरुलाई बैंक खाता खोल्न आग्रह गरिएको आयोगकी सहायक प्रवक्ता श्रीसले बताउनुभयो ।
सार्वजनिक बिदाका कारण पनि बैंक खाता खोल्ने काम प्रभावित भएकाले अब ढिलो नगर्न सचेत गराइएको श्रीसले बताउनुभयाो । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था छ ।
यसैबीच, आगामी निर्वाचनका लागि अहिलेसम्म ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आयोगका अनुसार आज अपरान्हसम्म ४१ वटा दलले घोषणापत्र सार्वजनिक गरी त्यसबारे जानकारी गराएका छन् ।
आयोगले यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन समेत दिएको थियो । तर, अझै पनि थुप्रै दलले चुनावी घोषणापत्र पेस गरेका छैनन् । आगामी चुनावमा प्रत्यक्षतर्फ ६८ दलले भाग लिदैछन् ।