निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भएकाले सबै ध्यान केन्द्रीत गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढन निर्देशन दिनुभएको हो । यस्तै, उहाँले आगामी निर्वाचनको सुरक्षा तथा शान्ति व्यवस्थापनका विषयमा चिन्ता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले दलहरुबीचमै विभिन्न बाहानामा झडप हुने विषयले सुरक्षाको वातावरण बिग्रिने भन्दै सजक बन्नुपर्नेमा जोड दिनुभयो । पार्टीहरूबीचनै त्यस्ता झडपका अवस्था आउनसक्ने भन्दै उहाँले सुरक्षाकर्मीहरुलाई सोबारे तयारी गर्न समेत निर्देशन दिनुभयो । प्रधानमन्त्री कार्कीले सबै सुरक्षा निकायका प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी पनि लिनुभयो ।
चुनावको मिति नजिकिएसँगै प्रधानमन्त्री कार्कीले अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले बताउनुभयो ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भारतीय सीमासँग जोडिएको लुम्बिनी प्रदेशको ५ सय १४ किलोमिटर क्षेत्रबाट हुन सक्ने जोखिमसहित त्यसलाई रोक्नसक्ने रणनीति तयार गरेर अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्की सुरक्षा अधिकारीको बैठक सकाएर लुम्बिनीको मायादेवी दर्शन गरी काठमाडौं फर्किनुभएको छ ।