मुख्य समाचार

वीरगञ्जमा कफ्र्यू आदेश हटाइयो, निषेधाज्ञा जारी

- शंकर आचार्यपर्सा

पर्साको वीरगन्जमा शान्ति सुव्यवस्था र सामाजिक सद्भावका लागि सर्वपक्षीय सहमति भएको छ । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा दुई युवा समूहबीचको झडपका कारण उत्पन्न असहज परिस्थितिपछि सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सम्पन्न बैठकले घटनाबाट प्रभावित पक्षलाई आवश्यक उपचार तथा राहत उपलब्ध गराउन प्रशासनसँग समन्वय गर्ने, पीडित परिवारलाई कानुनी प्रक्रिया मार्फत न्याय दिलाउन सहयोग गर्ने तथा घटनालाई सामाजिक सञ्जालमा भड्काउन गलत प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने तथा साइबर कानुन विपरीत गतिविधि गर्ने व्यक्तिमाथि कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ । बैठकले आगामी दिनमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम र जनप्रतिनिधिहरूलाई संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ । 

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरिएको कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी आदेश अनुसार आज अपरान्ह देखि लागू हुने गरी कफ्र्यू हटाइएको हो । 

यद्यपी, प्रशासनले आज बेलुकी ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिकाको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघर चोकमा निषेधाज्ञा तोकिएको छ ।