धादिङमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको
काठमाडौंपोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । २५ जना घाइते भएका छन् । गएराति साढे १ बजेतिर बेनिघाट रोराङ गाउँपालिकाको भैँसीगौडास्थित त्रिशूली नदी किनारमा खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकहरु मध्ये १३ जनाको सनाखत भएको छ । २४ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, सरकारले धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्य समिति गठन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघका प्रतिनिधि सहभागी बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकमा घाइतेको उद्धार, दोषीलाई कारबाही गर्ने र समिति गठन गर्ने निर्णयसहित राहतका विषयमा समेत छलफल भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो ।