निष्पक्ष निर्वाचन नेपालको प्राथमिकता : प्रधानमन्त्री कार्की
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिबद्द रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटहरुकाबीच मानव अधिकारको विश्वव्यापीकरणलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र त्यसलाई एक संस्कृतिको रूपमा विकास गर्नु भएको उहाँको भनाइ छ । प्रधानमन्त्री कार्कीले नेपालले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढंगले टुङ्ग्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारले सबै शक्ति परिचालन गरेको जानकारी समेत दिनुभयो । गत भदौमा ‘जेन–जी’ युवा आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागहरुलाई सम्बोधन गर्नु आफ्नो सरकारको मुख्य म्यान्डेट रहेको उहाँको भनाइ छ ।