मुख्य समाचार

निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

काठमाडौं

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

निर्वाचनको अघिल्लो दिन र भोलिपल्टसहित तीन दिन बिदा दिने निर्णय मन्त्रीपरिषद्को आजको बैठकले गरेको हो । सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीपरिषद्को निर्णयबारे जानकारी दिनुभयो । 

यसैबीच सरकारले २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । ती बिदाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 

यसैबीच, सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले राष्ट्रिय जेन जी परिषद् गठन गर्ने निर्णय गरेको छ । जेन जी पुस्ताबीच भएको सम्झौता अनुसार सरकारले सो परिषद् गठन गरेको हो ।