मुख्य समाचार

उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आयोगको आग्रह

काठमाडौं

निर्वाचन आयोगले कुनै पनि दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा अवरोध नगर्न आग्रह गरेको छ । अवरोध गरेमा सजाय हुने भन्दै आयोगले फरक आस्था बोकेकै आधारमा कसैलाई पनि प्रचार प्रसारमा अवरोध नगर्न सचेत गराएको हो । आयोगले प्रचार प्रसारमा कुनै अवरोध गरेमा दुई लाख बराबरको जरिवाना हुने जनाएको छ ।

निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ ।

कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले विभिन्न तरिकाले अवरोध सिर्जना गरेको गुनासो र उजुरी प्राप्त भएको भन्दै त्यस्तो कार्य नगर्न सचेत गराएको हो ।

निर्वाचन आचारसंहिता अनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने व्यवस्था छ ।