चुनावको सम्पूर्ण तयारी अन्तिम चरणमा
काठमाडौंनिर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अनुसार मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेका छन् । मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ जाने क्रम समेत शुरु भइसकेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावी तयारीको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा जारी छ । त्यस्तै, निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय भइसकेको छ ।
केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही गर्ने प्रक्रिया जारी राखेको छ ।