मध्यपूर्वमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आग्रह
काठमाडौंनेपाल सरकारले इरानमाथि अमेरिका र इजरायलको संयुक्त हमलासँगै मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आव्हान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुन अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ । यसैबीच, आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकवहादुर पौडेल क्षेत्रीले मध्यपूर्वमा थप तनाव हुन नदिन सम्वन्धित पक्षलाई आग्रह गरिएको बताउनुभयो ।
अमेरिका र इजरायलले हमला गरेपछि इरानले खाडी र मध्यपूर्वी देशमा अमेरिकी सेनाको सैन्य अखडालाई लक्षित गर्दै आक्रमण गरिरहेको छ । विकसित घटनाक्रमका कारण ती देशमा रहेका नेपालीको अवस्थालाई लिएर व्यापक चासो व्यक्त भएका छन् । परराष्ट्रका प्रवक्ता क्षेत्रीले अहिलेसम्म ती देशमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी प्राप्त भएको बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले नेपालीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएको छ । त्यसका लागि ¥यापिड एक्सन टीम बनाउन लागिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले भन्नुभयो ।
मध्यपूर्वी देशमा रहेका नेपालीको अवस्था बुझ्न र आवश्यक सहयोगका लागि एक्सन टिमले काम गर्ने मन्त्रालयको भनाइ छ । सहसचिव ढकालले सम्वन्धित निकायसँगको समन्वयमा आवश्यकता अनुसार नेपाली नागरिकलाई सहयोग उपलव्ध गराइने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका अनुसार इरान, इजरायल, ओमान, कतार, युएई, बहराइन र साउदी अरेयिबासहितका देशमा गरी १७ लाख २९ हजार २ सय ८८ जना नेपाली छन् । यसैबीच, यूएईस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई भ्रम फैलने सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ ।