निर्वाचन आचारसंहिता पूर्ण पालना नभएको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्ष
काठमाडौंराष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको पाइएको निष्कर्ष निकालेको छ । आयोगले आज विज्ञप्ती जारी गर्दै निर्वाचनपूर्व अनुगमनका क्रममा आचारसंहिता पालना हुन नसकेको उल्लेख गरेको छ ।
देशका विभिन्न भागमा र्याली तथा सभामा बालबालिका सहभागी हुनु, आचारसंहिता विपरीत भौतिक रुपमा चुनाव चिन्हको प्रयोग हुनु, उम्मेदवारहरुले अनुमति विना बढी सवारीसाधन प्रयोग गर्नु, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी एक आपसमा गालीगलौज गर्नु, लगायत तथ्य अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीका राम पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, आयोगले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण भएकाले सबै पक्षले धैर्यता र संयमता अपनाउन एवम् सामाजिक सञ्जालको दुरुपयोग नगर्न भनेको छ ।