स्याङ्जामा भिजेका मतपत्रले विवाद: मतदान अधिकृतसँग मतदाताको गुनासो
स्याङ्जा । स्याङ्जाको रामकोश फुलबारी मावि मतदानस्थलमा मतपत्र भिजेर चिसा भएपछि मतदाताहरूमा भोट बदर हुने डर बढेको छ । सदरमुकाम नजिकै रहेको सो मतदानस्थलमा मतपत्र नै भिजेको अवस्थामा भेटिएपछि मतदाताले प्रश्न उठाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाको मतदानस्थल पनि रामकोश हो । उहाँले चिसा मतपत्रमा मतदान गरेको स्वीकार गर्नुभयो । “मतदान अधिकृतका केही समस्या छन्” उहाँले भन्नुभयो, “हामीले दिऐको सुझाव पनि मान्नुभएको छैन् । आयोगको आदेश नै नटेर्ने अधिकृतलाई सम्झाएर निस्किए ।” उहाँले संचारकर्मीले पनि रिपोर्टिङ गर्न पाउनुपर्ने, भिजेका मतपत्रमा मत बदर हुने समस्या समाधान गर्न सुझाएको बताउनुभयो । मतपत्र कसरी र किन भिजे भन्ने समस्या समाधान गर्नुपर्ने मतदाताहरुको भनाइ छ ।तर मतदान अधिकृतले भने गुनासो सुन्नेभन्दा बेवास्ता गरेको आरोप छ ।
मतदानस्थलमा पुगेका निर्वाचन कार्यालय प्रमुखले समेत विषयमा चासो देखाए पनि उचित सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।लोकतन्त्रको सबैभन्दा संवेदनशील प्रक्रियामध्ये एक मतदान प्रक्रियामा यस्तो लापरबाही देखिनु गम्भीर विषय भएको मतदाताहरूको भनाइ छ । मतपत्र नै सुरक्षित नरहने अवस्था आयो भने मतदाताको मत कति सुरक्षित हुन्छ भन्ने प्रश्नसमेत उठाइएको छ । मतदान विहान ७ बजेबाट सुरू भएको थियो । संचारकर्मीलाई भने रिपोर्टिङमा रोक लगाएको छ ।