दाङ–३ का दुई मतदान केन्द्रमा मतदाताद्धारा बहिष्कार
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ–३ का दुई मतदान केन्द्रमा मतदान भएको छैन । बबई गाउँपालिका–७ स्थिती देउती मावि तल्लो मलैखोला र बबई–१ स्थित जनता आधारभूत विद्यालय जिला मतदान केन्द्रमा हालसम्म मत खस्न नसकेको हो ।
विहानैदेखि मतदानका लागि तयारी अबस्थामा रहे पनि कोही मतदान गर्न नआएको देउती मावि तल्लो मलैखोलाका मतदान अधिकृत टेकबहादुर खड्काले बताउनुभयो । यसअघि भएको सर्वदलीय बैठकमा उपस्थित भए पनि मतदानमा कोही पनि सहभागी नभएको उहाँले जानकारी दिनुभयो।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो क्षेत्रका बासिन्दाले यसअघि नै मतदान नगर्ने घोषणा गरेका थिए । नेताहरु गाउँ नआएको, जति भोट हाल्दा पनि विकासका पूर्वाधार केही नभएको र बाँके राष्ट्रिय निकुञ्ज राखेर गाउँलाई असुरक्षित बनाएको भन्दै उनीहरुले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।
जनता आधारभूत विद्यालय जिलामा भने सर्वदलीय बैठकमा पनि कोही नआएको र निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको मतदान अधिकृत चिरन्जीवी खड्काले बताउनुभयो । नेताहरुले बेवास्ता गरेको, जनताका आवाज नसुनेको र विकासका लागि पहल नगरेको भन्दै उनीहरुले बहिस्कार घोषणा गरेको खड्काले जानकारी दिनुभयो ।
देउती मावि तल्लो मलैखोलाका केन्द्रमा २ सय ७४ पुरुष र २ सय ५६ महिला गरी ५ सय ३० मतदाता छन् । यसैगरी जनता आधारभूत बिद्यालय जिलामा २ सय ९४ पुरुष र ३ सय ८८ महिला गरी ६ सय ८२ मतदाता छन् ।
२०७९ को निर्वाचनमा दाङ–३ बाट कांग्रेसका दिपक गिरी निर्वाचित हुनुभएको थियो । यसपटक पनि गिरी उम्मेदवार छन् । एमालेबाट घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी प्रतिस्पर्धामा छन् । यस क्षेत्रबाट २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा मास्की निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशसभा सदस्यबाट राजिनामा दिएर अहिले उम्मेदवार हुनुभएको छ ।