मुख्य समाचार

स्याङ्जा १ मा रास्वपा धनञ्जय रेग्मी विजयी

स्याङ्जा । निकटम प्रतिद्वन्द्वीलाई १० हजार २ सय १४ मतले पछाडी पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनञ्जय रेग्मी निर्वाचित हुनुभएको छ । रास्वपाका रेग्मीले २९ हजार ७१ मत ल्याउनुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत ल्याएर उपविजेता बन्नुभएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार मीनप्रसाद गुरुङले १६ हजार ८०४ मत ल्याएर तेस्रो हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शैलेन्द्र घिमिरे १ हजार ५ सय ५२ मतले चौथो हुनुभएको छ । रेग्मी यसअघि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । ६ महिनादेखि रास्वपाको सक्रिय राजनीति रहेका रेग्मी स्याङ्जाको गाउँ गाउँमा समस्या सुन्दै अभियानमा जुट्नु भएको थियो ।

स्याङ्जा–१ मा एक लाख ३० हजार ८८६ मतदाता थिए । तीमध्ये ७० हजार ९ सय ४९ मत खसेको थियो । खसेको मतमध्ये ६८ हजार ३६ मत दर र २ हजार ९ सय १३ मत बदर भएको थियो । यहाँ ११ दल र एक स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए ।