“जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” : एमाले महासचिव शंकर पोख्रेल
दुर्गालाल केसी
दाङ । एमाले महासचिव एवम् दाङ–२ का उम्मेदवार शंकर पोख्रेलले निर्वाचनको परिणामबारे टिप्पणी गर्दै लोकतान्त्रि प्रक्रियामा हारजित स्वभाविक भएको बताउनुभएको छ ।
शनिबार विहान सामाजिक सञ्जालमा सन्देश जारी गर्दै उहाँले “जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ” भन्ने गीतको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएको बताउनुभएको छ ।
उहाँले निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी को पक्षमा आएको छ,’ उहाँले भने, जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ अभिमत दिएका छन् ।”
जनविश्वास अनुरूप अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी हुने सबै प्रतिनिधिहरूलाई उहाँले कार्य सफलताको शुभकामना दिनुभएको छ ।
यस पटकको निर्वाचनमा आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गरेको र शुभेच्छुक तथा आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिएको भए पनि परिवर्तनको लहरका सामु प्रयास सफल हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो क्षेत्रबाट निर्वाचित हुन लाग्नुभएका रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना पनि दिनुभएको छ । पोख्रेल उम्मेदवार रहेको दाङ–२ मा ६१ हजार १ सय ६४ मत गन्दा आचार्य ३१ हजार ५ सय ९२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ भने पोख्रेल ११ हजार ५ सय ३१ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
((